प्रहार समाचार । रसुवा, २४ असार २०८२ मङ्गलवार । । गएराति आएको भीषण वर्षा र पहिरोसहितको बाढीले रसुवागढीस्थित नेपाल–चीन सिमानाको मितेरी पुल बगाउँदा कम्तीमा १८ जना बेपत्ता भएका छन् ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले प्रहार समाचारलाई घटनास्थलबाट टेलिफोनमार्फत जानकारी दिएका छन् ।

बाढीले पुलसँगै सीमा क्षेत्रमा रहेका केही सवारीसाधन पनि बगाएको छ । प्रशासनले घटनामा थप मानवीय क्षति हुन सक्ने आशंका व्यक्त गरेको छ ।

रसुवाको केरूङ नाका हुँदै व्यापारिक आवागमन हुने मितेरी पुल यसअघि २०७२ सालको भूकम्पमा क्षति पुगेको थियो । त्यसपछि चिनियाँ सरकारको सहयोगमा पुनर्निर्माण गरिएको उक्त पुल भोटेकोसीमा आइतबार राति ३:१५ बजे आएको बाढीले पुनः बगाएको हो । बाढीले मितेरी पुल मात्र नभई निर्माणाधीन सुख्खा बन्दरगासमेतमा क्षति पुर्याएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर उद्धार तथा खोजी कार्य जारी राखिरहेका छन् । बेपत्ताहरूको पहिचान र अवस्था खुलाउन केही समय लाग्न सक्ने जनाइएको छ ।
यस नाकाबाट मुख्य रूपमा चीनबाट सवारीसाधन, कपडा, जुत्ता–चप्पल र जलविद्युत् आयोजनाका उपकरणहरू आयात हुँदै आएका छन् । बाढीले पुल बगाउँदा नेपाल–चीन व्यापार पूर्ण रूपमा अवरुद्ध भएको छ । भन्सार कार्यालयले तयारी अवस्थामा रहेका सामग्री र सवारीसाधन समयमै लैजान आग्रह गरे पनि पुल पुनः बगाउँदा ढुवानी कार्य प्रभावित बनेको हो ।

आयातमुखी अर्थतन्त्रमा निर्भर नेपालका लागि रसुवागढी नाकामा आएको यस प्रकृतिको विपत्तिले गम्भीर आर्थिक असर पार्ने देखिएको छ । उद्धारपछि क्षतिको विस्तृत विवरण आउने अपेक्षा गरिएको छ




















