हेडलाईनव्याससमाचारगण्डकीसाहित्यमनोरञ्जन

ऐतिहासिक घाँसीकुवा पुनर्निर्माणतर्फ : भानु-घाँसी स्मारक पार्कको ३.५३ करोडको डीपीआर सम्पन्न

प्रहार समाचार । तनहुँ, २३ असार २०८२ सोमवार । तनहुँको व्यास नगरपालिका–१२ पृथ्वी राजमार्ग सङ्गै रहेको ऐतिहासिक तथा पुरातात्विक स्थल ‘घाँसीकुवा’लाई पुनः सुन्दर र व्यवस्थित बनाउन ३ करोड ५३ लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।

यस स्थलमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य र उनलाई रामायण लेख्न प्रेरणा दिने घाँसीको ऐतिहासिक जम्का भेट भएको मानिन्छ। यही ऐतिहासिकता बोकेको स्मारक स्थल संरक्षणका लागि भानु-घाँसी स्मारक पार्क संरक्षण समितिको अगुवाइमा पार्कको समग्र पुनर्निर्माण र सौन्दर्य बढाउने योजनासहित डीपीआर तयार पारिएको हो ।

भानु-घाँसी स्मारक पार्क संरक्षण समितिका अध्यक्ष अमृत पन्थका अनुसार मुग्लिन–पोखरा पूर्वी सडक खण्ड आयोजनाले पार्कको पुनर्निर्माण गर्न प्रतिबद्धता जनाएको छ। डीपीआर अनुसार पार्कमा बाटो, बगैँचा, शौचालय, बस्ने स्थान, पर्खाल, साइनबोर्ड, मञ्च, मूर्ति स्थल, पार्किङ लगायत संरचनात्मक विकासका कार्यहरू समावेश गरिएको छ। यसले भानु र घाँसीको स्मृतिलाई उजागर गर्दै सिङ्गो तनहुँको पर्यटन र सांस्कृतिक गन्तव्यको रूपमा समेत यस स्थललाई उचाइ दिने विश्वास गरिएको छ।

भानुभक्तको जन्मथलो तनहुँको गौरव मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको शान हो। त्यसैले यस्तो ऐतिहासिक स्थलको संरक्षणमा नगरपालिका, प्रदेश सरकार, संघीय सरकार, पर्यटन विभाग, नेपाली साहित्यका अभियन्ता तथा आम जनसमुदाय सबैको गम्भीर ध्यान जानु आवश्यक छ। “समयमै काम सम्पन्न गर्न हामी सबै सरोकारवालालाई हार्दिक अनुरोध गर्दछौं,” अध्यक्ष पन्थले भने। स्मारकको पुनर्निर्माणले भानु जयन्ती तथा अन्य सांस्कृतिक कार्यक्रमलाई थप ऐतिहासिक महत्त्व र भव्यता दिने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button