प्रहार समाचार । तनहुँ, २४ असार २०८२ मङ्गलवार । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत २०८१/८२ को औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको समग्र मूल्याङ्कनमा तनहुँको निर्मल माध्यमिक विद्यालयले प्रदेशभरमा प्रथम स्थान हासिल गरेको छ। उत्कृष्ट प्रदर्शन गरेवापत विद्यालयलाई नगद रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको हो। पुरस्कार लिंदै प्रधानाध्यापक बस्नेत :

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखराद्वारा आयोजित सम्मान कार्यक्रममा मन्त्री बिन्दु कुमार थापाले विद्यालयका प्रधानाध्यापक गणेश चन्द्र बस्नेतलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए। कार्यक्रम २०८२ को “दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना” अन्तर्गत सम्पन्न भएको हो, जसमा विभिन्न शिक्षालय, उद्योग तथा प्रशिक्षार्थीहरूले प्रतिस्पर्धात्मक रूपमा सहभागिता जनाएका थिए ।

निर्मल माध्यमिक विद्यालयले प्राप्त सम्मानले सम्पूर्ण विद्यालय समुदायलाई गर्वित बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तम बहादुर दरैले बताए । प्रधानाध्यापक बस्नेतले प्राप्त पुरस्कारले विद्यालयले अझ उत्कृष्ट कार्यहरु गर्दै जाने प्रेरणा थपिएको बताए । विद्यालय परिवारले गण्डकी प्रदेश सरकार तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सीपमूलक शिक्षामा योगदान दिँदै अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

























