• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ , २३ असार २०८२ सोमवार । सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा–पत्थरमा तोकेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै लमजुङका सुनचाँदी व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। उनीहरूले व्यवसाय धरापमा परेको भन्दै असार १५ गतेदेखि सम्पूर्ण सुनचाँदी पसल बन्द गरेर आन्दोलन चर्काएका छन् ।

लसुनचाँदी व्यवसायी संघ लमजुङका अध्यक्ष बमबहादुर विश्वकर्माका अनुसार यसअघि विरोध ऱ्याली, बजार परिक्रमा, ज्ञापनपत्र बुझाउने र पत्रकार सम्मेलनजस्ता कार्यक्रम सम्पन्न गरिसकिएको छ। अहिले आन्दोलनको दोस्रो चरणमा प्रवेश गरिएको हो।
“सरकारको अव्यावहारिक कर नीतिले व्यवसाय नै संकटमा परेको छ,” अध्यक्ष विश्वकर्माले भने, “असार १५ गतेदेखि जिल्लाका सबै सुनचाँदी पसल पूर्ण रूपमा बन्द गरेर हामी आन्दोलनमा उत्रिएका छौं। माग पूरा नभएसम्म संघर्ष जारी रहन्छ।”

संघको अगुवाइमा असार १६ गते लमजुङ सदरमुकाम बेसीशहरमा व्यापक विरोध प्रदर्शन गरिएको थियो। त्यस्तै, सोमबार पनि मौन ऱ्यालीसहित प्रशासनचोकसम्म पुगेर व्यवसायीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका छन्। “सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर”, “हिरा–पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर” भन्ने नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका थिए।
संगठनका पूर्व अध्यक्ष मनिलाल विश्वकर्माले सरकारसँग स्पष्ट र व्यवहारिक नीति निर्माणको माग गरेका छन्। “सुनको भन्सार शुल्क ६ प्रतिशत कायम गरिनुपर्छ, सुनचाँदी कारोबारको लागि स्पष्ट कार्यविधि र निर्देशिका चाहिन्छ,” उनले भने, “विलासिता कर खारेज नगरे व्यवसाय धराशायी हुन्छ।”
सरकारले यसअघिको व्यवस्था अनुसार १० लाख रुपैयाँभन्दा माथिको गहनामा मात्र विलासिता कर लगाउने नीति राखेको थियो। तर हालैको बजेटमार्फत त्यो सीमा हटाइएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

व्यवसायीहरूका अनुसार नयाँ कर संरचनाले ग्राहकको विश्वास गुम्दै गएको छ र अवैध कारोबार प्रोत्साहित हुनसक्ने खतरा छ। उनीहरूले छिटोभन्दा छिटो कर नीति पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्।

























