प्रहार समाचार । तनहुँ, २३ असार २०८२ सोमवार । देशभर सक्रिय मनसुनी प्रणालीसँगै गण्डकी प्रदेशसहित पश्चिमका विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ। कास्की, लमजुङ, पर्वत, म्याग्दी, पाल्पा, प्यूठान, रोल्पा, अर्घाखाँची र डोटी लगायतका जिल्लामा बिहानैदेखि वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल मनसुनी वायूको प्रभाव कायम रहेको र भारतको पश्चिम बंगाल आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभावसमेत परेको छ।

महाशाखाले आज दिउँसो कर्णाली र सुदूरपश्चिमका थोरै तथा गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। यस्तै, रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षा हुने अनुमान गरिएको छ। मुसलधारे पानी परेमा बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ।
देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकोले आगामी केही दिन झन् व्यापक वर्षा हुने अनुमान छ। जल तथा मौसमविद्हरूले सम्भावित जोखिमका क्षेत्रमा यात्रारत यात्रु, निर्माणाधीन पूर्वाधार तथा नदी किनारमा बसोबास गर्ने समुदायलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। स्थानीय प्रशासनलाई पनि आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।




















