हेडलाईनव्याससमाचारगण्डकी

निर्मल मा.वि. को प्रधानाध्यापकमा पुन: बस्नेत नियुक्त

प्रहार समाचार । तनहुँ, १९ असार २०८२ बिहिवार । तनहुँको व्यास नगरपालिका–१, भादगाउँस्थित जिल्लाकै प्रतिष्ठित नमुना विद्यालय अन्तर्गत रहेको निर्मल माध्यमिक विद्यालयको प्रधानाध्यापकमा गणेश चन्द्र बस्नेत पुनः नियुक्त भएका छन्। व्यास नगरपालिकाको बोर्ड बैठकको निर्णयले बस्नेतलाई पुनः विद्यालयको नेतृत्व प्रदान गरेको हो।

व्यास नगरपालिकाको विज्ञापन अनुसार विद्यालय विकास प्रस्ताव पेश गरि प्रधानाध्यापक छनोट समितिको सिफारिस, विद्यालय व्यवस्थापन समितिको अनुमोदन र अन्ततः नगरपालिकाको बोर्ड बैठकबाट निर्णय भएपछि बस्नेत पुनः नियुक्त भएका हुन्। यस नियुक्ति प्रक्रिया नमुना विद्यालय निर्देशिका (२०७४ संशोधनसहित) अनुसार गरिएको हो।

विद्यालयलाई गुणस्तरीय शिक्षा, विद्यार्थीमा ज्ञान, सीप, चरित्र र सेवाभाव विकास गराउने उद्देश्यसहितको नमुना विद्यालयका रूपमा अगाडि बढाउन गुरुयोजना निर्माण गरिएको छ। उक्त गुरुयोजना अनुसार शैक्षिक, भौतिक, आर्थिक, व्यवस्थापकीय पक्ष तथा सिर्जनात्मक क्रियाकलापमार्फत विद्यार्थीका रुचि, खुबी र क्षमताअनुसार वातावरण निर्माण गरिने जनाइएको छ।

अनुभवी शिक्षक बस्नेतले विद्यार्थीमा सकारात्मक सोच, अनुशासन, लगनशीलता, कर्तव्यपरायणता, आदर सत्कार, धार्मिक भावना र नैतिक आचरणको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

हिजो बुधवार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा व्यास -१ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरै, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण बि.क., विव्यस सदस्यहरू हरि खनाल, सपना श्रेष्ठ बस्नेत, चिजा माया बि.क., सहायक प्रधानाध्यापक बिरबहादुर बस्नेत लगायतको उपस्थितिमा बस्नेतलाई बधाईसहित औपचारिक रूपमा पदस्थापन गरिएको विद्यालयका शिक्षक प्रतिनिधि लोकराज सेढाईले जानकारी दिए ।

वडा अध्यक्ष हड्खलेले बस्नेत एक इमान्दार , कर्तव्य निष्ठ तथा धार्मिक व्यक्तित्व भएकाले आगामी दिनहरुमा विद्यालयको समग्र शैक्षिक गुणस्तरमा बृद्धि हुने विश्वास लिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तम बहादुर दरैले बस्नेतको निरन्तरताले विद्यालयको सर्वाङ्गीण विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button