प्रहार समाचार । काठमाडौँ, १९ असार २०८२ बिहीवार । देशभर सक्रिय मनसुनको प्रभावका कारण लगातार वर्षा भइरहेको छ। मंगलबार रातिदेखि सिन्धुपाल्चोक, नुवाकोट र बझाङलगायतका स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र राति पनि धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेको जनाइएको छ।

मधेश बाहेक सबै प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भएकाले पहाडी क्षेत्रमा बाढी, पहिरोको जोखिम बढ्न सक्छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर मनसुनी वायुको प्रभाव व्यापक छ। मौसमविद्हरूका अनुसार अझै केही दिन मौसम अस्थिर रहने देखिएको छ।


























