प्रहार समाचार । लमजुङ, १८ असार २०८२ बुधवार । लमजुङको मध्यनेपाल नगरपालिका–३ स्थित मंगला माध्यमिक विद्यालय, सोतीपसलले एसईई २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई तथा सम्मान गर्दै शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।


विद्यालय प्रांगणमा भएको उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौलाले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको साथका कारण विद्यालयले हर्षलाग्दो नतिजा ल्याएको बताए । उनले अबका दिनहरूमा अझ बढी गुणस्तरीय शिक्षाका लागि आवश्यक वातावरण निर्माणमा व्यवस्थापन समिति क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक विष्णुहरी बास्तोलाले मङ्गला बाट उत्तीर्ण विद्यार्थीह देशका विभिन्न ठाउँमा उत्कृष्ट योगदान दिइरहेको स्मरण गर्दै यसपटकको एसईई परीक्षामा पनि विद्यार्थीहरूले सोचे अनुरूप नतिजा नल्याएपनि आगामी दिनमा सुदूर ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय शिक्षा सम्भव छ र गरे हुन्छ भन्ने कुरा प्रमाणीत गरिने बताए । प्रअ बास्तोलाले अबको यात्रामा विद्यालयले रोजगार मूलक, प्रविधिमैत्री र सिर्जनात्मक शिक्षातर्फ केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।

एसईई परीक्षा २०८१ मा विद्यालयका सुबोध साँखी र अनिस पहारीले समान ३.८७ जीपीए प्राप्त गर्दै सर्वाधिक अंक ल्याउने विद्यार्थी बनेका छन्। त्यसपछि आदर्श पौडेल (३.८१), कमल बहादुर कुँवर (३.६८), जेनिश ओझा (३.६७), शोभा पौडेल (३.५५), र रोशनी श्रेष्ठ (३.५४) लगायतका विद्यार्थीले उल्लेखनीय परिणाम हासिल गरेका छन्। विद्यालयका बाँकी ४२ जना विद्यार्थीले २.५० जीपीए भन्दा माथि प्राप्त गरेकाको विद्यालयले जनाएको छ । त्यस अबसरमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई र अभिभावकहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रका सल्लाहकार, शैक्षिक संस्था प्रतिनिधि तथा अन्य शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिमा ध्यान दिने प्रतिवद्धता जनाएको छ।



























