प्रहार समाचार । तनहुँ, १८ असार २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका–५, वरवोटे निवासी ५० वर्षीया मधुमाया श्रेष्ठलाई क्यान्सर पुष्टि भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। केही महिनादेखि स्वास्थ्यमा समस्या देखिएपछि पोखराको मनिपाल हस्पिटलमा प्रारम्भिक परीक्षण गरिएकी श्रेष्ठलाई चितवन अस्पतालमा थप परीक्षणपछि फोक्सो र मेरुदण्डको हड्डीको चौथो चरणको क्यान्सर रहेको पुष्टि भएको हो।
क्यान्सर पिडित मधुमायाँ श्रेष्ठ :

उपचारका लागि चितवनमा सम्भव नभएपछि हाल श्रेष्ठ भारतको पंजाबस्थित ओशोवाल क्यान्सर अस्पतालमा उपचाररत छिन्। श्रीमान् मानकाजी श्रेष्ठका अनुसार उपचार प्रक्रिया निकै खर्चिलो भएकाले परिवार आर्थिक रूपमा अप्ठ्यारोमा परेको छ। उनका अनुसार, अहिले सम्मको उपचारमै धेरै खर्च भइसकेको र अबका दिनमा लाग्ने खर्च जुटाउन सकस परेको छ। श्रेष्ठ दम्पतीका दुई सन्तान छन्।
यसैबीच, पीडित मधुमायाको जीवनरक्षाका लागि स्थानीय समुदायबाट सहयोग जुटाउन थालिएको छ। व्यास–५, भुपुटोलका स्थानीयवासीहरूले ४२ हजार ५ सय ७५, पतेनीटार नेवा समाजले ११ हजार २ सय ४५, वरवोटे नेवा गुठीले ५ हजार र वरवोटे टोल विकास संस्थाले ६० हजार ९ सय ३० रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

समग्रमा, हालसम्म १ लाख १९ हजार ७ सय ५० रुपैयाँ सहयोग संकलन भइसकेको छ। श्रीमान् मानकाजी श्रेष्ठले आफ्नो श्रीमतीको जीवनरक्षाका लागि अझै थप सहयोग आवश्यक परेको भन्दै देश-विदेशमा रहनुभएका सबै दाताहरूसँग सक्दो सहयोगको अपिल गरेका छन्। सहयोग गर्न चाहनेहरुले मधुमायाँका श्रीमान् मानकाजी श्रेष्ठलाई मोवाइ नम्बर ९८०४११८६०५ मा अथवा प्रहार अनलाईन मिडियाका प्रमुख (सम्पादक) शंकरराज नहर्कीको मोवाइल नम्बर ९८४६०६७०२७ मा सम्पर्क गरेर सहयोग रकम प्रदान गर्न सकिने छ।



























