प्रहार समाचार । तनहुँको बन्दीपुर गाउँपालिका–१, पिप्लेमा रहेको पवित्रा माध्यमिक विद्यालयले एसईई परीक्षा २०८१ मा उल्लेखनीय सफलता हात पार्दै सामुदायिक विद्यालय तर्क पालिका टप गर्न सफल भएको छ। विद्यालयकी छात्रा आयुषा श्रेष्ठले सर्वाधिक ४.० जिपिए ल्याएर पालिका टपर बन्न सफल भएकी छन्।


परीक्षामा १ सय ११ जना विद्यार्थीमध्ये ५४ जना विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका विद्यालयका शिक्षक एवं सूचना अधिकारी विजय आचार्यले प्रहार समाचारलाई बताए ।
विद्यालयको समग्र उत्तीर्ण प्रतिशत करिब ५० रहेको छ। यद्यपि, अर्थशास्त्र विषयको नतिजा सन्तोषजनक नभएकाले १७ जना विद्यार्थीहरुको उत्तर पुस्तिकालाई पुन : परीक्षणका लागि आवेदन दिइएकोले यो प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद न्यौपानेले कठिन परिस्थिति, विद्यालयमा राजनैतिक हस्तक्षेप तथा ग्रामीण परिवेशमा पनि विद्यार्थीले देखाएको मेहनत र शिक्षकहरूको लगनशीलताको प्रशंसा गर्दै विद्यालयको शिक्षण गुणस्तर निरन्तर सुधार भइरहेको बताए ।

विद्यालयका ईशा नैनावस्तीले ३.९५, रेजिना थापाले ३.८७, मनीला लामाले ३.६७, सभ्यता बि.के.ले ३.६४ जिपिए हासिल गरेका छन्। विद्यालयका अन्य धेरै विद्यार्थीले पनि ३.०० भन्दा माथिको जिपिए प्राप्त गरेका छन्।
२०१५ सालमा स्थापना भएको विद्यालयले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस वर्षको एसईई नतिजाले विद्यालयको शैक्षिक स्तरमा थप विश्वास र हौसला मिलेको विद्यालय प्रशासनको भनाई छ ।

विद्यालय परिवारले एसईई परीक्षामा सफल सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान सहित बधाई दिएर उज्ज्वल भविष्यको कामना व गरेको छ।



























