• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, १७ असार २०८२ मङ्गलवार । बेसीशहर नगरपालिकाले मानवसेवा आश्रमलाई नि: शुल्क औषधि वितरण गरेको छ।

पालिकाले ४९ हजार ७ सय ८१ रुपैयाँ बराबरको औषधी वितरण गरेको जनाएको छ। मानसिक समस्या र अन्य स्वास्थ्य समस्याबाट पीडित आश्रममा आश्रित २१ जना व्यक्तिहरूका लागि आवश्यक २७ प्रकारका औषधी खरिद गरेर सहयोग गरिएको हो। चालु आर्थिक वर्षको बजेटबाट खरिद गरिएका औषधीहरु मंगलबार औपचारिक रूपमा आश्रममै पुगेर हस्तान्तरण गरिएको हो।

नगर प्रमुख गुमानसिंह अर्याल, उपमेयर पदमा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहरा, प्रेस सल्लाहकार कृष्ण केसी लगायतले औषधी हस्तान्तरण गरेका हुन्। आश्रम भवन निर्माण समितिका अध्यक्ष मोहनबहादुर थापा र संयोजक अनिता अधिकारीले औषधी सहयोगप्रति आभार व्यक्त गर्दै यसले आश्रितहरूलाई नियमित औषधी सेवनमा सहजता पुगेको बताए। आश्रममा मानसिक समस्याका साथै विविध सामाजिक समस्यामा परेका २१ जना आश्रित छन्।

बेसीशहर नगरपालिकाले आश्रितहरूका लागि स्वास्थ्य बीमा गर्न १ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि नागरिकता प्रमाण नहुँदा बीमा प्रक्रिया सम्पन्न हुन सकेको छैन। संयोजक अधिकारीका अनुसार मानवसेवा आश्रमले उपचार तथा औषधी खर्च व्यवस्थापनमा ठूलो बोझ खेप्दै आएको छ, यस्ता संस्थागत सहयोगले आश्रमको जिम्मेवारीमा सहजता ल्याउने विश्वास गरिएको छ।


























