प्रहार समाचार । काठमाडौँ, १७ असार २०८२ मङ्गलवार । आज देशभर मौसम बदली रही विभिन्न प्रदेशमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। हिजो दिउँसो सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायतका केही क्षेत्रमा ठूलो पानी परेको भए पनि रातिको वर्षा तुलनात्मक रूपमा कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशीदेखि गण्डकीसम्म भारी वर्षा र चट्याङको जोखिम :
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको बताइएको छ।
राति पनि वर्षा कायमै, मनसुनको असर व्यापक :
रातिको समयमा समेत कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको तुलनामा उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक पुगेकाले वर्षाको प्रभाव अझ फैलिएको जनाइएको छ।


























