प्रहर समाचार । भारत, १७ असार २०८२ मङ्गलवार । भारतको तेलंगानास्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको सिगाची रसायन कारखानामा विस्फोटपछि भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार दुर्घटनामा ३५ जना घाइते भएका छन् भने २४ जना अझै बेपत्ता रहेको जिल्ला प्रशासनले जनाएको छ। हालसम्म चार जनाको मात्रै पहिचान हुन सकेको र बाँकीको पहिचान कार्य जारी रहेको छ।
उद्दार कार्य जारी, ५७ जना सकुशल फेला
सङ्गीन दुर्घटनापछि उद्दार तथा खोजी कार्य तीव्र पारिएको छ। जिल्ला प्रशासनका अनुसार अहिलेसम्म ५७ जना सकुशल उद्धार गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने बेपत्ताको खोजी कार्य स्थानीय प्रशासन, दमकल, प्रहरी र राहत टोलीको सहकार्यमा अगाडि बढिरहेको छ।
प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा
दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई राष्ट्रिय राहत कोषमार्फत २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, बिहार सरकारले बिहारमा बसोबास गर्ने मृतकका आश्रितहरूलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।


























