हेडलाईनसमाचारबन्दीपुरगण्डकी

सिद्धान्त गर्जा मगरद्वारा अरुण मा. वि. मा १ लाखको अक्षयकोष स्थापना


प्रहार समाचार । तनहुँ, १६ असार २०८२ मङ्गलवार । तनहुँको बन्दीपुर गाउँपालिका निवासी सिद्धान्त गर्जा मगरले बन्दीपुर–६ मा रहेको अरुण माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयका पूर्व विद्यार्थी रहेका समाजसेवी मगरले आफ्ना स्वर्गीय हजुरबुबा मोतिलाल थापा र हजुरआमा मन्धरा थापाको स्मृतिमा उक्त अक्षयकोष स्थापना गरेका हुन्।

ज्ञान, कला र कर्मबाट आर्जन गरेको आम्दानीबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको मगरले बताए। सोमवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रूपमा उक्त रकम विद्यालयका प्रधानाध्यापक विशाल गौतम, वडा अध्यक्ष बल बहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज थापाको उपस्थितिमा मगरले हस्तान्तरण गरेका थिए।

गर्जा मगर हाल सेतीगंगा आधारभूत विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन्। उनले आफूले अध्ययन गरेको विद्यालयबाट पाएको शिक्षाले नै जीवन जिउन सक्ने आधार प्रदान गरेको स्मरण गर्दै त्यही ज्ञानप्रति कृतज्ञता प्रकट गर्न सहयोग स्वरूप अक्षयकोष स्थापना गरेको उल्लेख गरे।

विद्यालय परिवारले मगरको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै अक्षयकोषले विद्यार्थीहरूलाई लामो समयसम्म लाभ पुर्‍याउने विश्वास व्यक्त गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button