आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

विद्युत समस्या समाधानका लागि आँबुखैरेनीमा सरोकारवालासँग छलफल : महत्वपूर्ण निर्णयसहित आठ बुँदे सहमति

प्रहार समाचार । तनहुँ, १७ असार २०८२ गलवार । तनहुँको आँबुखैरेनी गाउँपालिकामा विद्युत आपूर्ति सम्बन्धी समस्या र त्यसका समाधानका उपायहरूबारे मर्स्याङ्दी जलविद्युत केन्द्र, नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र तथा विभिन्न सरोकारवालासँगको विशेष छलफल सोमवार सम्पन्न भएको छ।

पालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, मर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पशुपति राज गौतम, नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजय राज रेग्मी, इन्जिनियर माधव सापकोटा, मर्स्याङ्दी केन्द्रका प्रशासन प्रमुख प्रदीप रुपाखेती र लेखा प्रमुख चिरञ्जिवी शर्मासहित सरोकार बलाहरुको सहभागिता रहेको थियो।

बैठकमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख टेक प्रसाद सुवेदी, गाउँपालिकाका वडाध्यक्षहरू क्रमशः प्रेम बहादुर गुरुङ, आस बहादुर गुरुङ, दिनेश के.सी, सन्तोष गुरुङ लगायत जनप्रतिनिधिहरू, राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू, उद्योग वाणिज्य संघ आँबुखैरेनी, सत्रसय बजार इकाइ, टोल विकास संस्था, युवा क्लब लगायतका संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता थियो।

छलफलमा सहभागी सरोकारवालाहरुले हालसम्मको विद्युत आपूर्तिको अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै मर्स्याङ्दी जलविद्युत केन्द्र नजिकै रहे पनि नियमित र भरपर्दो विद्युत सेवा नपाएको गुनासो राखेका थिए। यस्ता समस्या समाधान गर्न र थप व्यवस्थित ढंगले विद्युत आपूर्ति गर्न आठ बुँदे सहमति गरिएको हो।

सहमति अनुसार विद्युत वितरणलाई चुस्त र व्यवस्थित बनाउन आवश्यकता अनुसार फिडर लाइन छुट्याइने छ। ग्रामिण क्षेत्रमा हप्तौँसम्म देखिने विद्युत अवरुद्ध समस्याको तत्काल समाधानका लागि ‘रेपिड रेस्पोन्स टिम’ गठन गरिनेछ, जसले २४ घण्टाभित्र सेवा पुनः सुचारु गर्ने व्यवस्था मिलाउनेछ। यस कार्यमा गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण आँबुखैरेनी शाखालाई आवश्यक सहजीकरण गर्ने छ।

नाङ्गो तार र काठेपोल विस्थापनको आवश्यकता रहेको क्षेत्रको संयुक्त प्राविधिक अध्ययन गरिने र यस आर्थिक वर्षभित्र त्यस्ता पोलहरु विस्थापन गरिनेछ। मार्किचोक लगायतका क्षेत्रमा देखिएको ‘लो भोल्टेज’ समस्या समाधान गर्न ट्रान्सफर्मरको क्षमता वृद्धि गरिने योजना पनि तय गरिएको छ।

यस्तै, आगामी असोज महिनासम्म पालिकालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्य राखिएको छ। गाउँपालिका चोकदेखि आँबुखैरेनी बजार चोक क्षेत्रको सडक विस्तार योजनासँगै पोलहरू स्थानान्तरण गरी भूमिगत विद्युतीकरण गरिने पनि निर्णय गरिएको छ।

जलविद्युत केन्द्रको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिँचाइ क्षेत्रमा निश्चित रकम व्यवस्थापन गरिने प्रतिबद्धता गरिएको छ। साथै, ढकालटारस्थित विद्युत प्राधिकरणको स्वामित्वमा रहेको खण्डहर अवस्थामा पुगेको संरचनामा तालिम केन्द्र पुनः स्थापना गर्ने वा सो संरचना पालिकालाई प्राविधिक शिक्षालय स्थापनार्थ उपयोग गर्न दिने विषयमा नीतिगत पहल गरिनेछ।

बैठकले स्थानीय तहमा ऊर्जा क्षेत्रको सुधार र दीर्घकालीन समाधानका लागि यस्तो सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ। छलफलमार्फत भएको आठ बुँदे सहमति आँबुखैरेनी गाउँपालिकाको विद्युत आपूर्ति प्रणालीलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button