हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा चार विद्यार्थीहरुले एसईईमा चार जिपिए ल्याए : समग्र जिल्लाको यस्तो रह्यो स्थिति

प्रहार समाचार । तनहुँ, १४ असार २०८२ शनिवार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा तनहुँ जिल्लाका चार जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गर्दै चार जिपिए (GPA 4.0) प्राप्त गर्न सफल भएका छन्। जिल्लाका विभिन्न पालिकाबाट परीक्षा दिएका ती विद्यार्थीहरूले अनुकरणीय सफलता प्राप्त गरेका हुन्।

व्यास नगरपालिका–५ चापाघाटस्थित शान्तिवर्ष माध्यमिक विद्यालयकी छात्रा स्नेहा गिरी तनहुँ जिल्लाको नगर क्षेत्रमा रहेर चार जिपिए ल्याउने एक मात्र विद्यार्थी बनेकी छन्। उनीले आफ्नै विद्यालयको शैक्षिक पहिचानलाई उच्च बनाउनुका साथै व्यास नगरकै गौरवसमेत बढाएकी छन्।

त्यस्तै, औंवुखैरेनी गाउँपालिका अन्तर्गत रहेको रामशाह माध्यमिक विद्यालयका दुई विद्यार्थी – छात्र किस्मत पोख्रेल र छात्रा सन्जिना थापाले पनि चार जिपिए ल्याउँदै गाउँपालिकाको शैक्षिक प्रगतिको उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूको नतिजाले ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको सम्भावना प्रमाणित भएको छ।

यस्तै, बन्दीपुर गाउँपालिकास्थित पवित्र माध्यमिक विद्यालयकी छात्रा आयुषा श्रेष्ठ पनि चार जिपिए ल्याउन सफल भएकी छन्। बन्दीपुरको ऐतिहासिक र शैक्षिक वातावरणमा अध्ययन गर्दै उनले उत्कृष्ठ नतिजा हासिल गर्दै जिल्लाको शैक्षिक छवि उजागर गरेकी छन्।

शुक्रबार सार्वजनिक नतिजाअनुसार तनहुँ जिल्लाबाट कूल ४ हजार ८ सय ४५ परीक्षार्थी सहभागी भएका थिए। शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार तीमध्ये ३ हजार ९६ जना विद्यार्थी ग्रेडेड श्रेणीमा उत्तीर्ण भएका छन् भने १ हजार ७ सय ४९ जना अनुत्तीर्ण भएका छन्। यस अनुसार जिल्लाको समग्र उत्तीर्ण प्रतिशत ६३.९० रहेको छ।

शिक्षा इकाइले उपलब्ध गराएको तथ्याङ्क अनुसार ४ सय१० जना विद्यार्थीले ३.६–४.०, ८९५ जनाले ३.२–३.६, १,१६४ जनाले २.८–३.२, ६०२ जनाले २.४–२.८, र २५ जनाले २.०–२.४ जिपिए ल्याएका छन्। समग्रमा जिल्लाको नतिजा विगत वर्षको तुलनामा सन्तोषजनक रहेको जनाइएको विश्लेषकहरुले बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button