प्रहार समाचार । तनहुँ, १४ असार २०८२ शनिवार । तनहुँको व्यास नगरपालिका–१ मा रहेको निर्मल माध्यमिक विद्यालयका विद्यार्थीहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ७७.२७ प्रतिशत सफलता हासिल गरेका छन्। विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतका अनुसार परीक्षामा सहभागी भएका ६६ जना मध्ये ५१ जना विद्यार्थी ग्रेडेड श्रेणीमा उत्तीर्ण भएका हुन्।

हिंजो गरिएको प नतिजाअनुसार ३.६ देखि ४.० जीपीए श्रेणीमा ६ जना विद्यार्थी परेका छन्, जसमा सर्वाधिक जिपिए ३.८७ रहेको छ। यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ७ जना, २.८ देखि ३.२ जिपिए ल्याउने २२ जना, र २.४ देखि २.८ जिपिए प्राप्त गर्ने विद्यार्थी १६ जना रहेका छन्।
परीक्षामा १० जना विद्यार्थीले एक विषयमा ग्रेड नआउने (NG) र ५ जनाले दुई विषयमा NG ग्रेड प्राप्त गरेको विद्यालयले जनाएको छ।
विद्यालयले यो नतिजालाई शैक्षिक गुणस्तरमा सुधारको संकेतका रूपमा लिएको छ। ‘शिक्षकहरूको समर्पण, अभिभावकहरूको साथ, र विद्यार्थीहरूको मेहनतकै कारण यो सफलता सम्भव भएको हो,’ प्रधानाध्यापक बस्नेतले भने, – ‘आगामी वर्षमा अझ प्रभावकारी तयारीसाथ नतिजा सुधार गर्ने योजनामा छौं।’ निर्मल माध्यमिक विद्यालय व्यास नगर क्षेत्रका पुराना शिक्षण संस्थामध्ये एक हो।
























