हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको भानु नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम

प्रहार समाचार । तनहुँ, ५ असार २०८२ बिहिवार । तनहुँको भानु नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। “समृद्ध र सुसंस्कृत भानु नगरको निर्माण हाम्रो साझा संकल्प” नारासहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, सामाजिक समावेशीकरण, वातावरण संरक्षणलगायत बहुआयामिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख त्रिपाठीले नगर क्षेत्रमा बालमैत्री विद्यालयको विस्तार, शिक्षकको मनोबल वृद्धि, र नगर शिक्षा योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ। युवामाझ सीप र नेतृत्व विकास, खेलकुद प्रवर्द्धन, लागुऔषधविरुद्ध सचेतना अभियान र युवा संसद कार्यक्रम समेत सञ्चालन गरिने जनाए ।

नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सर्वसुलभ सेवा, जोखिममा रहेका वर्गका लागि लक्षित कार्यक्रम, निजी स्वास्थ्य क्षेत्रसँग सहकार्य, नि:शुल्क सेवा र अत्याधुनिक अस्पताल भवन निर्माण प्राथमिक एजेन्डाका रूपमा अघि सारिएको छ। पुरनडिही अस्पताल र कालिमाटी अस्पतालको स्तरोन्नतिको योजना सँगसँगै घरदैलो क्लिनिक र खोप कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ।

यस्तै कृषि तथा पशुपालनमा आत्मनिर्भरता प्राप्त गर्ने नीति लिइएको छ। सामूहिक खेती, बीउ विजनमा आत्मनिर्भरता, जैविक विविधता संरक्षण, र अर्गानिक उत्पादन प्रवर्द्धन गरिनेछ। पशु खोप अभियान, नश्ल सुधार, एक वडा एक पशु उत्पादनजस्ता कार्यक्रम पनि अगाडि सारिएका छन्।

पर्यटन क्षेत्रमा आदिकवि भानुभक्तको जन्मस्थलको गुरुयोजना अनुसार विकास गरिनेछ। “भानु जन्मस्थल जाऊँ, भानुलाई चिनाऔँ” भन्ने नाराका साथ साहित्यिक पार्क, सप्तधाम, प्रतिमा निर्माण लगायत पूर्वाधार निर्माणमा जोड दिइएको छ। होमस्टे प्रवर्द्धन तथा मौलिक संस्कृति जोगाउने कार्यक्रमलाई थप प्रभावकारी बनाइने कार्यक्रममा उल्लेख छ।

पूर्वाधार विकासतर्फ नीति तथा कार्यक्रममा सडक सञ्जाल विस्तार, झोलुङ्गेपुल निर्माण, सडक स्तरोन्नति र मर्मतसम्भारमा प्राथमिकता दिइएको छ। भौतिक संरचना निर्माणमा भवन संहिता कडाइका साथ पालना गरिने र समयमै आयोजना सम्पन्न गर्ने नीति अवलम्बन गरिने जनाइएको छ। सिंचाइ पूर्वाधार विकासमार्फत कृषि उत्पादन वृद्धि गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

यस्तै वातावरण संरक्षण, विपद् व्यवस्थापन र फोहोरमैला व्यवस्थापनलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ। प्रत्येक वडामा विपद् व्यवस्थापन समिति सक्रिय बनाइने, वृक्षरोपण, नदीजन्य पदार्थको व्यवस्थापन, ल्याण्डफिल्ड साइट निर्माण, र स्रोतमै फोहोर वर्गीकरण लगायतका कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ।

यसरी भानु नगरपालिकाले प्रस्तुत गरेको यस नीति तथा कार्यक्रमले दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुक्षेत्रीय पहलमार्फत समावेशी र समृद्ध भानु नगर बनाउने दिशामा अघि बढ्ने संकेत दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button