• बिजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, ५ असार २०८२ बिहीवार । आत्महत्या जस्तो संवेदनशील विषयमा सञ्चारकर्मीको भूमिकालाई थप प्रभावकारी बनाउने प्रयास लमजुङमा गरिएको छ। मानसिक स्वास्थ्य स्वलम्बन संस्था ‘कोशिश नेपाल’ले लमजुङका पत्रकारहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रममा उक्त कुरा आग्रह गरिएको हो ।

बुधबार नेपाल पत्रकार महासंघ लमजुङको समन्वयमा बेंसीशहरमा सम्पन्न कार्यक्रममा आत्महत्या रोकथामका लागि उत्तरदायी सञ्चार सिप र रिपोर्टिङका संवेदनशील पक्षहरूबारे गहन छलफल गरियो।
कोशिश नेपालका लमजुङ–गोरखा संयोजक महेन्द्र आचार्यका अनुसार आत्महत्याको विद्यमान अवस्था, कारण, जोखिम तथा जोखिममा रहेका व्यक्तिका संकेतबारे जानकारी गराइएको थियो। उनले नेपाल प्रहरीको तथ्यांक उद्धृत गर्दै आर्थिक वर्ष २०८०/८१ मा देशभर ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको र गण्डकी प्रदेशमा मात्र ४ सय ७७ जनाले आत्महत्या गरेर ज्यान गुमाएको बताए।

कार्यक्रममा परियोजनाका मनोविद् विजय राईले आत्महत्या न्युनिकरणका लागि सञ्चारमाध्यमको भूमिकालाई संवेदनशील र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले आत्महत्या सम्बन्धी समाचार तयार गर्दा शव्द चयन, प्रस्तुति र स्रोतको विश्वसनीयता महत्त्वपूर्ण हुने बताए। गलत ढंगमा सम्प्रेषित समाचारले आत्महत्याको जोखिम बढाउने र तथ्यपरक र संवेदनशील समाचारले जीवन जोगाउन सक्ने उल्लेख गरे।

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलको अध्यक्षता र कोशिश नेपालकी गिता घलेको सहजीकरणमा सम्पन्न कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले आत्महत्या रोकथाममा मिडियाको भूमिकाबारे व्यवहारिक दृष्टिकोणबाट बुझ्ने अवसर पाएको बताएका थिए।


























