तनहुँ, ५ असार २०८२ बिहीवार । ‘बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नारासहितको अभिभावक शिक्षा कार्यक्रम तनहुँको भिमाद नगरपालिकामा सम्पन्न भएको छ। जनज्योति माध्यमिक विद्यालय भिमादमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहर आचार्यले सकारात्मक सोचका साथ रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिंदै जति सकिन्छ त्यति गरौं, केहि न केहि त अवश्य गरौं भन्ने सन्देश दिए । कार्यक्रममा अभिभावकहरूको सक्रिय सहभागिता र विद्यालयको सहयोगले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।

उक्त कार्यक्रममा भिमाद नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले समन्वय गरेको थियो भने जनज्योति माध्यमिक विद्यालयको सहकार्य रहेको थियो । आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम निरन्तर चलाउने प्रतिबद्धता आयोजकले जनाएको छ।



























