हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाको नमूना कार्य : विपन्न परिवारलाई निःशुल्क घर हस्तान्तरण

• सुशिल बि. क. ( प्रहार संवाददाता ) तनहुँ, ३ असार २०८२ मङ्गलवार । तनहुँको म्याग्दे गाउँपालिकाले विपन्न र घरविहीन परिवारहरूको जीवनस्तर उकास्न विपन्न परिवारलाई नि:शुल्क घर हस्तान्तरण गरेको छ।

पालिकाले ४८ वटा पक्की घर निर्माण गरी सम्बन्धित लाभग्राहीहरूलाई हस्तान्तरण गरेको छ । ‘नमूना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातवटै वडाका जोखिमपूर्ण अवस्थामा बस्दै आएका नागरिकलाई सुरक्षित आवास उपलब्ध गराएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पहिलो चरणमा आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारको समपूरक कोष र गाउँपालिकाको बराबरी हिस्साबाट र एक करोड बजेट विनियोजन गरिएको थियो । सो बजेटमा म्याग्दे मूलबाराही निर्माण सेवाले ठेक्का सम्झौता गरी १६ वटा घर निर्माण गर्यो ।

त्यसपछि चालु आर्थिक वर्षमा थप ३२ वटा घर निर्माणका लागि तीन करोड नौ लाखको बजेट विनियोजन गरियो, जसमा र एक करोड २० लाख संघीय सरकारबाट र बाँकी रकम गाउँपालिकाबाट व्यवस्था गरिएको हो । पासा शुक्ला जेभीले रु दुई करोड ७३ लाख ५९ हजार ३७४ मा ती घरहरू निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

घरहरूको वितरण वडागत रूपमा गरिएको छ – वडा नं १ र २ मा सात–सात, वडा नं ३, ५ र ६ मा छ–छ, वडा नं ४ र ७ मा आठ–आठ घर निर्माण गरिएका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार वडाबाट आएको सिफारिसका आधारमा पारदर्शी रूपमा घर वितरण गरिएको हो । उनले जानकारी दिएअनुसार निर्माण गरिएका घरहरू १० वर्षसम्म बिक्री गर्न, धितो राख्न वा भाडामा दिन नपाइने स्पष्ट व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

जग्गा नभएकालाई छरछिमेकीले नि:शुल्क जग्गा पास गरिदिएका छन् भने केही लाभग्राहीसँग आफ्नै जग्गा रहेको गाउँपालिकाले जनाएको छ ।

वडा नं ७ हर्कपुरका सुकमान श्रेष्ठ गाउँमै सुविधा सम्पन्न घर पाउँदा अत्यन्तै खुसी छन् । “सरकारले दिएको यो घर हाम्रो सपना जस्तै लागिरहेको छ,” उनले भावुक हुँदै भने ।

त्यस्तै, वडा नं २ जामुनेकी विष्णुमाया सुनारले आय नपुग्ने अवस्थाका कारण जीवनभर घर बनाउन नसक्ने बताउँदै गाउँपालिकाले बनाइदिएको घरलाई जीवनको सबैभन्दा ठूलो उपहार मानेकी छन् ।

वडा नं ४ धोद्रेका लक्ष्मण परियारले गाउँपालिकाले निःशुल्क घरसहित खानेपानीको समेत व्यवस्था गरिदिँदा आफूजस्ता सम्पत्तिविहीनको जीवनमा नयाँ उज्यालो थपिएको महसुस व्यक्त गरे ।

स्थानीय सरकारको यस्ता कार्यक्रमहरूले समावेशी विकास, सामाजिक न्याय र गरिबी न्यूनीकरणमा प्रभावकारी योगदान पुऱ्याएको सरोकारवालाहरूको धारणा छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button