हेडलाईनसमाचारघिरिङगण्डकी

तनहुँको घिरिङ गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, २ असार २०८२ सोमवार । तनहुँको घिरिङ गाउँपालिकामा आज  एक दिने सामाजिक कुरीति विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।


सामाजिक विकास कार्यालय, तनहुँको आयोजनामा, घिरिङ गाउँपालिकाको समन्वय र मिजार समाज घिरिङको सहजिकरणमा भएको कार्यक्रममा लैङ्गिक हिंसा, बालविवाह, दाइजो प्रथा, जातीय विभेद, मानव बेचबिखन तथा ओसारपसारजस्ता परम्परागत हानिकारक अभ्यास न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले समाजमा गहिरिएर बसेका कुरीति र विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले पालिकाले आगामी दिनमा चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुर हरि आचार्यले परिवर्तनको सुरुवात चेतनाबाट हुने भन्दै घर–परिवारबाटै सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए।

मिजार समाज तनहुँका अध्यक्ष रनसिङ नेपालीले सामाजिक विभेद र कुरीति हटाउन घर–घरमा चेतनाको दियो बाल्न आवश्यक रहेको धारणा राखे। त्यस्तै, मिजार समाज घिरिङका अध्यक्ष टुकबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित अगुवा रसिङ नेपालीले पछाडि पारिएका समुदायमाथि हुने विभेद अन्त्यका लागि नीति, शिक्षा र व्यवहार सबै तहबाट सक्रियता आवश्यक रहेको बताए।

कार्यक्रममा स्थानीय समुदाय, महिला समूह, युवा तथा सामाजिक अभियन्ताहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक कुरीति अन्त्य गर्न सामूहिक रूपमा अभियान सञ्चालन गर्नुपर्ने माग गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button