प्रहार समाचार । तनहुँ, २ साउन २०८२ सोमवार । भानु नगरपालिका अन्तर्गत बालमैत्री स्थानीय शासन (सि एफ एल जी) दुई दिने कार्यशाला आजबाट सुरु भएको छ। नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भानु नगरपालिकालाई वालमैत्री स्थानीय शासनको रूपमा अगाडि बढाउने उद्देश्यका साथ आवश्यक प्रक्रियागत कार्यहरू तत्काल सुरु गरिने जानकारी दिइएको छ।

नगर प्रमुख त्रिपाठीले वालवालिकालाई सहज रूपमा भौतिक पूर्वाधारमा पहुँच दिनु, उनीहरूको संरक्षण, विकास र सहभागितालाई सुनिश्चित गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व भएको धारणा व्यक्त गरे।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत गौतम भण्डारीले वालमैत्री शासनका अवधारणा, कानुनी दायित्व र त्यसलाई लागू गर्नुपर्ने चरणबद्ध प्रक्रिया सम्बन्धी विषयमा जानकारी गराउँदै सबै सरोकारवाला पक्षको सक्रिय सहकार्य अपरिहार्य रहेको बताए। साथै, उनले पालिकामा बालमैत्री पूर्वाधार र नीतिगत संरचना विकास गर्न वर्तमान कार्यदलले तयारी गरिरहेको समेत उल्लेख गरे।
नगर प्रवक्ता एवम् वडा नं. ७ का अध्यक्ष ईश्वर बहादुर घिमिरेले वालमैत्री शासनलाई व्यवहारमा उतार्नको लागि नीतिगत प्रतिबद्धता मात्र पर्याप्त नरहेको, यसको सफल कार्यान्वयनका लागि सामुदायिक सहभागिता, अभिभावकको जागरूकता र बालक्लवहरूको सक्रिय भूमिकाको खाँचो रहेको बताए। उनले नगरपालिकाले यस कार्यक्रममार्फत बाल अधिकारका सवालमा दीर्घकालीन नीति निर्माणतर्फ गम्भीर ध्यान दिने प्रतिबद्धता जनाए।

दुई दिनसम्म सञ्चालन हुने कार्यशाला असार ३ गतेसम्म चल्नेछ। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारी, विद्यालयका प्रमुखहरू, स्वास्थ्य संस्था तथा बाल क्लबका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। ‘साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो – पारौं समृद्ध र समुन्नत भानु हाम्रो’ भन्ने मूल नाराका साथ अघि बढिरहेको भानु नगरपालिकाले बालमैत्री शासनलाई विकासको एक महत्वपूर्ण आधारका रूपमा लिएको छ।
























