प्रहार समाचार । तनहुँ, २ असार २०८२ सोमवार ।
तनहुँ जिल्लामा पहिलोपटक आयोजना हुन लागेको टि–२० क्रिकेट प्रतियोगिता भोलि असार ३ गतेदेखि व्यास नगरपालिका–५ स्थित पाटन खेल मैदानमा सुरु हुने भएको छ। तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगितामा ९ टिमको सहभागिता रहनेछ।

प्रतियोगिताको बारेमा जानकारी दिने उद्देश्यले तनहुँ जिल्ला क्रिकेट संघद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो ।
प्रतियोगितालाई तीन समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहको विजेता र बाँकी टिममध्ये उत्कृष्ट रनरेट हासिल गर्ने एक टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगितामा इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लब, दमौली क्रिकेट क्लब, प्रगतिशील क्रिकेट क्लब केशवटार, मन्दाकिनी क्रिकेट एकेडेमी, हिमालय स्पोर्ट्स एकेडेमी, आरसीबी क्रिकेट एकेडेमी चितवन, पेलिकन्स क्रिकेट क्लब र दमौली रिभास क्लब सहभागी हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको विजेता टिमलाई ७५ हजार रुपैयाँ नगद, ट्रफी र पदक प्रदान गरिनेछ भने उपविजेता टिमले ३० हजार रुपैयाँ नगद, ट्रफी र पदक प्राप्त गर्नेछ। त्यस्तै, प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ‘प्लेयर अफ द सिरिज’, ‘सर्वोत्कृष्ट ब्याट्सम्यान’, ‘सर्वोत्कृष्ट बलर’, ‘उदीयमान खेलाडी’ लगायतको उपाधिसहित पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘प्लेयर अफ द म्याच’ पनि घोषणा गरिनेछ।
क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले यूवा प्रतिभालाई खेलमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको पहिलो दिन इस्टर्न क्रिकेट एकेडेमी र प्रगतिशील क्रिकेट क्लब केशवटार तथा आरसीबी क्रिकेट एकेडेमी चितवन र दमौली रिभास क्लबबीच प्रतिस्पर्धा हुनेछ। पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदिप शर्मा, संघ तनहुँका संस्थापक अध्यक्ष तारा राम श्रेष्ठ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, संघका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति सदस्य मनोज सुवर्णकार लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिता आगामी असार ९ गतेसम्म सञ्चालन हुनेछ।




















