प्रहार समाचार । तनहुँ, ३१ जेठ २०८२ शनिवार । तनहुँको सदरमुकाम दमौलीमा जारी ‘दोस्रो नमस्ते देउराली कप भलिबल प्रतियोगिता’ विवादमा तानिएको छ। यही जेठ २८ गतेदेखि सुरु भएको प्रतियोगिता आज ३१ गते क्वाटरफाइनल चरणसम्म आइपुग्दा रेफ्रिको निर्णयप्रति असन्तुष्टि जनाउँदै एक टिमले खेल बहिष्कार गरेको छ। प्रतियोगितामा रेफ्रि दिल कुमार थापा र सहायक लक्ष्मण गुरुङको निर्णयमाथि प्रश्न उठेको हो।

बिबाद व्यास नगरपालिका–१३ को सिद्धबाबा यूवा क्लब र ऋषिङ गाउँपालिका–६ को ऋषिङ समाजबीच भएको क्वाटरफाइनल खेलका क्रममा चुलिएको हो। दुवै टिमले एक–एक सेट जितेसँगै खेल तेस्रो निर्णायक सेटमा पुगेको थियो। त्यसक्रममा भएको एक निर्णायक पलमा ऋषिङ समाजका खेलाडीको बल एन्टेनामा लागेको प्रष्ट देखिए पनि रेफ्रिले अंक विपक्षी टिमलाई दिँदा स्थिति तनावपूर्ण बनेको थियो।
सिद्धबाबा यूवा क्लबले भिडियो प्रमाण र दर्शकको प्रतिक्रिया हुँदाहुँदै रेफ्रिले गलत निर्णय गरेको भन्दै तत्कालै खेल बहिष्कार गर्ने निर्णय लिएको हो। क्लब अध्यक्ष लेख बहादुर थापाले प्रहार समाचारलाई बताएअनुसार, “फल प्रष्ट देखिएको थियो, एन्टेना समेत हल्लिएको थियो, तर रेफ्रिले विपक्ष टिमलाई अंक दिएपछि हामीले न्यायको लागि खेल रोक्यौं।”

विवादको समाधानका लागि क्लबले खेलकुद विकास समिति तनहुँ र जिल्ला प्रशासन कार्यालयमा न्यायिक छानबिनको माग गर्दै उजुरी दिने तयारी गरेको छ। क्लबको माग छ—विवादित खेल पुनः सुरुबाट सञ्चालन होस्, र प्रतिस्पर्धामा निष्पक्षता कायम रहोस्। प्रतियोगिता आयोजक समितिले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यो विवादित खेलको भिडियो प्रहार अनलाईन मिडियाको फेस बुक पेज prahaar samachar मा पनि हेर्न सक्नु हुने छ।
























