हेडलाईनसमाचारगण्डकीघिरिङ

घिरिङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय आर्थिक विकास शिक्षा प्रदान

• अन्जान परियार/ प्रहार समाचार । तनहुँ, ३० जेठ २०८२ शुक्रवार । तनहुँको घिरिङ गाउँपालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय आर्थिक विकास तथा बजेट निर्माणसम्बन्धी तीन दिने तालिम दिइएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बिहीबारदेखि सुरु भएको तालिम गाउँपालिका कार्यालयको सभाहलमा सञ्चालन भइरहेको छ। तालिमले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रियामा सघाउ पुर्‍याउने विश्वास गरिएको छ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष होम बहादुर थापाले स्थानीय तहमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गरी कार्य सम्पादनमा थप पारदर्शिता र प्रभावकारिता ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए। उनले बजेट निर्माणमा व्यावहारिक ज्ञान र सीप आवश्यक हुने भन्दै यस्तो तालिम आवश्यक रहेको धारणा राखे।

तालिममा सहभागी ३७ जना जनप्रतिनिधि र कर्मचारीहरूले स्थानीय आर्थिक विकासको अवधारणा, बजेट तर्जुमा प्रक्रिया, स्थानीय स्रोत र साधनको पहिचान तथा उपयोगलगायत विषयमा प्रशिक्षण लिएका छन्। प्रशिक्षक सूर्य विनोद पोख्रेल र शान्ति वरालाले निजी क्षेत्रसँग सहकार्य, लगानी प्रवर्द्धन, योजना निर्माण प्रक्रिया र स्थानीय विकासका सम्भावनाहरूमा जानकारी दिएका छन्।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले तालिमका माध्यमबाट स्थानीय तहमा आर्थिक स्रोतको सही पहिचान र उपयोगमार्फत दिगो विकास सम्भव हुने बताए। उनले यस्ता तालिमहरू आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी बनाइने जानकारीसमेत दिए।

तालिममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरे, शाखा अधिकृत जित बहादुर राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button