प्रहार समाचार । तनहुँ, ३० जेठ २०८२ शुक्रवार । नेपालमा १५ दिनअघि कोशी प्रदेश हुँदै भित्रिएको मनसुन बल्ल विस्तार हुन थालेको छ। नियमित समयभन्दा १६ दिन अघि अ अर्थात् जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन नसकेर सीमित क्षेत्रमा मात्र सक्रिय रहँदै आएको थियो।

मौसम विज्ञान विभागका अनुसार, यो वर्षको मनसुन सुरु भए पनि सोहोरिएर पूर्वी एसियातर्फ सरेको थियो, जसका कारण नेपालमा मनसुनी वर्षा व्यापक हुन सकेन।
मनसुनी सक्रियता : चार प्रदेशमा वर्षा, पश्चिममा अझै प्रतीक्षामा :
यसै बिच हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनीको पूर्वी क्षेत्रमा मात्र मनसुनी प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यिनै क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिनभरि पनि केही स्थानमा सोही प्रकारको वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको छ।
मनसुन अझै सबै प्रदेशमा नपुगे पनि सक्रिय हुने संकेत :
देशको पश्चिमी भागमा भने अझै मनसुन पुग्न बाँकी रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार अहिले पश्चिमी वायु र स्थानीय वायुले केही असर गरिरहेको भए पनि मनसुनी प्रभाव विस्तार हुन अझै केही दिन लाग्न सक्छ। यद्यपि, मनसुन फैलिने सरदर मिति जुन १३ नै भएकाले अब यसको प्रभाव क्रमशः अन्य प्रदेशहरूमा पनि विस्तार हुने संकेत देखिएको छ।
























