हेडलाईनसमाचारप्रदेश

पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द हुने : मुग्लिन–मलेखु सडकखण्डमा स्तरोन्नतिको काम तीव्र

प्रहार समाचार । तनहुँ, ३० जेठ २०८२ शुक्रवार । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा आज (जेठ ३१) देखि असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले आरसीसी बिम राख्ने कामलाई प्राथमिकता दिँदै राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म सडक पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो। आयोजनाका प्रमुख इञ्जिनियर केदारप्रसाद नेपालका अनुसार बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा बिम राख्न क्रेन सञ्चालन गर्नुपर्ने भएकाले यो निर्णय लिइएको हो।

निर्धारित समयमा अत्यावश्यक सवारीबाहेक अन्य सबै सवारीसाधन चल्न नपाउने जनाइएको छ। मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मलेखुमा र हलुका सवारी शितलबजारमा रोकिनेछन् भने मुग्लिनबाट मलेखुतर्फ जाने सवारीमध्ये भारी सवारी मुग्लिनमा र हलुका कुरिनटारमा रोकिनेछन्। रोकिने सवारीसाधनहरूलाई बिहान ३ बजेपछि मात्र गन्तव्यतर्फ जान दिइने आयोजनाले जनाएको छ।

सडक स्तरोन्नतिको कामलाई प्रभावकारी बनाउन र आगामी बर्षात्समयको जोखिम कम गर्न योजनाबद्ध रूपमा रातिको समय चयन गरिएको हो। आयोजनाले यात्रु तथा सवारीधनीहरूलाई वैकल्पिक समय व्यवस्थापन गर्न आग्रह गरेको छ। साथै यात्रुहरूलाई सम्भावित असुविधा र ढिलाइप्रति क्षमायाचनासमेत गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button