प्रहार समाचार । भारत, २९ जेठ २०८२ बिहीवार ।भारतको गुजरात राज्यस्थित अहमदाबादमा बिहीबार दुर्घटनामा परेको एअर इन्डियाको विमानको एक भाग इन्टर्न डाक्टरहरू बस्ने होस्टेलको छानामाथि खसेको पाइएको छ। विमानस्थलबाट उडेको केही मिनेटमै दुर्घटना भएको र त्यसको भाग अस्पताल परिसरमा खस्दा भाग्यमै केही ठूलो मानवीय क्षति हुन नपाएको जनाइएको छ।

स्रोतका अनुसार सो भवन एक सरकारी अस्पताल अन्तर्गतको होस्टेल हो, जहाँ इन्टर्न डाक्टरहरू बसोबास गर्छन्। सार्वजनिक दृश्यहरूमा विमानको पछाडिको भाग छानामाथि अडिएको देखिन्छ, जसमा पांग्रा समेत जोडिएको देख्न सकिन्छ। विमान दुर्घटनाको जानकारी पाउनासाथ सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका थिए।
समाचार संस्था पीटीआईले सार्वजनिक गरेको भिडिओमा दुर्घटनास्थल नजिक ठूलो भिड देखिएको छ। चालक दलसहित २४२ जना सवार विमानमा १६९ जना भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज, र १ क्यानाडेली नागरिक रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

























