प्रहार समाचार । काठमाडौँ, २९ जेठ २०८२ बिहीवार । काठमाडौं महानगरपालिका–२२, प्युखास्थित एक ज्वेलर्सबाट करिब दुई करोड एक लाख रुपैयाँ बराबरको बिलबिनाका सुन, हिरा तथा रत्नका गरगहना बरामद गरिएको छ। प्रहरीले उक्त गहना सहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत कलकत्ताका ४३ वर्षीय हविवुल सेख, ३९ वर्षीय सुर्यजित दास, ४० वर्षीय तमल साद्रा र १६ वर्षीय एक किशोर रहेका छन्। यी सबै जना काठमाडौं–२२ मा बसोबास गर्दै आएका थिए। हविवुलले प्युखा कृष्णचोकमा सञ्चालन गर्दै आएको ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ मा बिलबिनाका गरगहना बिक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट संयुक्त रूपमा खटिएको टोलीले ज्वेलर्समा तलासी गर्दा करिब २ करोड १ लाख ७८ हजार ३६० रुपैयाँ बराबरका बिलबिनाका गहनाहरू फेला पारेको हो। पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ।
























