प्रहार समाचार । काठमाडौँ, २९ जेठ २०८२ बिहीवार । ताइवानको पूर्वी तटमा आज बिहान शक्तिशाली भूकम्पले ठूलो संख्यामा जनतालाई तर्साएको छ। स्थानीय समयअनुसार बिहानै गएको भूकम्पको कम्पनका कारण राजधानी ताइपेइदेखि पूर्वी भागसम्मका भवनहरू झस्किएर हल्लिन पुगे। मोबाइल फोनमा अलार्म बज्न थालेपछि मानिसहरू बाहिर निस्किन थालेका थिए, जुनले त्रासको अवस्था सिर्जना गर्यो।

६.४ रेक्टर स्केलको कम्पन: केन्द्र ३०.९ किलोमिटर गहिराइमा :
ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको तीव्रता ६.४ म्याग्निच्युड मापन गरिएको छ भने यसको केन्द्रबिन्दु ३०.९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ। भूकम्पको प्रभाव पूर्वी भागमा बढी देखिएको भए पनि हालसम्म कुनै ठूलो क्षतिको औपचारिक जानकारी आइसकेको छैन। स्थानीय प्रशासन र उद्धार टोली सतर्क अवस्थामा छन्।
अमेरिकी विवरण फरक: हुआलियन नजिक ५.९ म्याग्निच्युडको पुष्टि :
भिन्न मापन प्रणाली अनुसार अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले भने भूकम्पको तीव्रता ५.९ म्याग्निच्युड भएको र यसको केन्द्र हुआलियन शहरबाट करिब ७१ किलोमिटर दक्षिणमा रहेको जनाएको छ। यो फरक विवरण भए पनि दुवै स्रोतले यसलाई गम्भीर प्रकृतिको भूकम्प मानेका छन्। ताइवान भूकम्पीय जोखिममा पर्ने क्षेत्र भएकाले आगामी झट्काको सम्भावनालाई लिएर सावधानी अपनाइएको छ।
























