प्रहार समाचार । काठमाडौँ, २५ जेठ २०८२ आइतवार । आज गण्डकी प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा आइतबार हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार गण्डकी, बागमती, कोशी तथा मधेश प्रदेशका उच्च भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने र यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने पूर्वानुमान गरिएको छ।

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको विभागले जनाएको छ। यस प्रभावका कारण आइतबार दिउँसो कोशी र मधेश प्रदेशका केही स्थानसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेश र अन्य पहाडी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ।
आइतबार राति पनि कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपात हुन सक्ने विभागको भनाइ छ। मौसमको यस अवस्थाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
























