‘पछिल्लो समय राज्यको स्रोतबाट तय गरिएका योजनामा कुनै नेता, जनप्रतिनिधि वा सामाजिक अगुवाको नाम जोडेर प्रचार गर्ने प्रवृत्ति बढ्दो छ। यस्तो प्रवृत्ति केवल सस्तो प्रचारको माध्यम मात्र नभई चाकडी, चाप्लुसी र आत्मप्रशंसाको अजीर्ण भोकको निराशाजनक उदाहरण हो।’ भन्दै नेकपा (एकीकृत समाजवादी) तनहुँका नेता विद्या ढकाल लेख्छन् :

हरेक वर्ष संघ, प्रदेश र स्थानीय तहबाट नीति, कार्यक्रम तथा बजेट सार्वजनिक हुने परम्परा अविच्छिन्न रूपमा चल्दै आएको छ। यो कुनै अस्वाभाविक वा विशेष घटना होइन, राज्य सञ्चालनको नियमित प्रक्रिया हो। यसरी सार्वजनिक गरिने बजेटमा सम्बन्धित तह अनुसार जिल्ला, पालिका, वडा तथा टोलसम्मका जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समेटिएको हुन्छ। अर्थात्, राज्यका नागरिकले तिरेको कर र सम्पत्तिबाट प्राप्त हुने स्रोत नै बजेटको मूल आधार हो, जुन अन्ततः जनताको सम्पत्ति हो।
तर, पछिल्लो समय राज्यको स्रोतबाट तय गरिएका योजनामा कुनै नेता, जनप्रतिनिधि वा सामाजिक अगुवाको नाम जोडेर प्रचार गर्ने प्रवृत्ति बढ्दो छ। यस्तो प्रवृत्ति केवल सस्तो प्रचारको माध्यम मात्र नभई चाकडी, चाप्लुसी र आत्मप्रशंसाको अजीर्ण भोकको निराशाजनक उदाहरण हो। कुनै योजना सार्वजनिक हुँदा त्यसको जिम्मेवारी स्वाभाविक रूपमा सरकारको हुन्छ। तर, त्यसलाई व्यक्तिगत योगदानका रूपमा प्रस्तुत गर्नु नैतिक र राजनीतिक दृष्टिले गलत अभ्यास हो।
अझ यसरी स्याल हुईँया मचाउँदै चाप्लुसी गर्ने जमातलाई हेर्दा त लाजले लाजलाई पनि लाज लाग्ने अवस्था सिर्जना भएको देखिन्छ।
विकास निर्माणका काममा सहजिकरण गर्नु, योजना कार्यान्वयनमा ध्यान पुर्याउनु र जनताको पक्षमा काम गर्नु स्वयं नेता, जनप्रतिनिधि वा सामाजिक अगुवाको संवैधानिक जिम्मेवारी हो। त्यसैले, ती कर्तव्यहरू पूरा गर्दा ‘फलानोले यस्तो गर्यो, उसले यति ल्यायो’ भनेर व्यक्तिगत प्रशंसा गर्नु स्वयं जिम्मेवारीबाट भाग्ने र जनतालाई भ्रममा पार्ने प्रवृत्ति हो।
यस्तो अवस्थामा चाहिँ बरु जसले आफ्नो परिभाषित जिम्मेवारीभन्दा माथि उठेर सिङ्गो देश र जनताको हितमा विशेष योगदान दिएको छ, त्यस्तो व्यक्तिको चर्चा हुनु स्वाभाविक, तर्कसंगत र प्रशंसनीय ठहरिन्छ।
(नेता विद्या ढकालको यो टिप्पणीले राजनीतिमा देखिएको प्रचारमुखी विकृत सोचको यथार्थ चित्रण गर्छ र सार्वजनिक स्रोत तथा सेवा सम्बन्धी नैतिक विमर्शको सशक्त आधार पनि प्रस्तुत गर्छ।- सम्पादक)


























