प्रहार समाचार । काठमाडौँ, २२ जेठ २०८२, बिहीवार। नेपाली राष्ट्रिय फुटबल टोली आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिँदैछ। यो खेल हङकङको हङकङ नेसनल स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। नेपालले झण्डै ३७ वर्षपछि हङकङसँग फुटबल खेल्न लागेको हो। अघिल्लो पटक सन् १९८८ मा काठमाडौंस्थित दशरथ रंगशालामा एसियन कप छनोट अन्तर्गत दुवै टिम आमनेसामने भएका थिए, जुन खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

हाल फिफा वरियतामा हङकङ १५३औं स्थानमा रहेको छ भने नेपाल १७५औं स्थानमा छ। यद्यपि, नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छ। एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफमा रहेको नेपालले जुन १० मा लाओसविरुद्धको अवे खेल खेल्ने तयारी गरिरहेको छ। हङकङसँगको आजको मैत्रीपूर्ण खेल सोही तयारीको हिस्सा हो।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक म्याट रोसले हङकङ बलियो टिम भए पनि नेपाल जितका लागि पूर्ण तयारीसहित खेल्ने बताए। उनले यो खेल केवल मैत्रीपूर्ण मात्र नभएर आगामी छनोट खेलको तयारीसमेत भएको उल्लेख गरे। त्यस्तै, कप्तान किरण चेम्जोङले विपक्षी टोलीलाई सम्मान गर्दै नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।आजको खेल नेपालका लागि नतिजाभन्दा पनि रणनीति, संयोजन र आत्मविश्वास निर्माण गर्ने अवसर बन्नेछ।


























