प्रहार समाचार । तनहुँ, २२ जेठ २०८२ बिहीवार । तनहुँको भानु नगरपालिका–१ सालविनेस्थित सत्यवती देवी आधारभूत विद्यालयमा आयोजित एक दिवसीय निःशुल्क छाती रोग (क्षयरोग) सम्बन्धी स्वास्थ्य शिविरबाट तीन जनामा क्षयरोग (टिबी) पुष्टि भएको छ।

भानु नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा, क्षयरोग केन्द्र गण्डकी प्रदेश र स्वास्थ्य कार्यालय तनहुँको समन्वयमा हिंजो सम्पन्न भएको हो। सो शिविरमा ३७५ जनाको छातीको एक्सरे जाँच गरिएको थियो। तीमध्ये १४ जनामा क्षयरोगको शंका लागेपछि थप परीक्षणका लागि उनीहरूलाई जिन एक्सपर्ट परीक्षण (GeneXpert Test) गर्न क्षयरोग केन्द्र पठाइएको स्वास्थ्य शाखाले जनाएको छ।

कार्यक्रमको उद्घाटन भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले गरेकी थिइन्। उनले नगरवासीको स्वास्थ्यप्रति पालिकाले उच्च चासो राख्दै यस्तो शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

स्वास्थ्य शाखाका अनुसार, क्षयरोग पत्ता लगाउन विशेष प्रविधियुक्त एक्सरे प्रविधिको प्रयोग गरिएको थियो। शिविरमा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहनुले जनस्वास्थ्यप्रति जनचेतना बढ्दै गएको संकेत मिलेको जनाइएको छ।

स्वास्थ्य शाखा प्रमुख, कार्यक्रमसँग सम्बन्धित स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विद्यालयका शिक्षक हरुको समेत सहयोगमा कार्यक्रम भएको थियो।


























