प्रहार समाचार । तनहुँ, २१ जेठ २०८२ बुधवार । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित पृथ्वी राजमार्गमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

आज दिउँसो ३:३० बजेतिर थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ८३८८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ निवासी २४ वर्षीय सरोज पौडेल गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। तर, अस्पताल पुगी उपचारकै क्रममा साँझ ३:५० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा संलग्न बसका चालक तनहुँ शुक्लागण्डकी नगरपालिका–१० निवासी ३४ वर्षीय तारापति शर्मा जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।


























