हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकामा पञ्चेबाजा तालिम : संस्कृति संरक्षणसँगै आत्मनिर्भरताको बाटो

प्रहार समाचार । तनहुँ, १९ जेठ २०८२ सोमवार । तनहुँको म्याग्दे गाउँपालिकाले लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले पञ्चेबाजा बजाउने सीपमूलक तालिम सञ्चालन गरेको छ। रोजगारीविहीन स्थानीय महिला तथा पुरुषलाई आत्मनिर्भर बनाउन गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत तालिम सुरु गरिएको हो। वडा नं. ६ क मा सञ्चालन गरिएको तालिममा १९ जना सहभागी छन्।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले यस्तो तालिमले परम्परागत संस्कृति संरक्षणसँगै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे। “सिकेको सीपमार्फत आम्दानी गर्न सकिने भएकाले तालिम निकै प्रभावकारी हुने देखिएको छ,” उनले भने। उपाध्यक्ष बालकृष्ण घिमिरेले तालिमपछि सहभागीहरूले सांस्कृतिक सम्पदाको संरक्षण गर्दै व्यवसायिक रूपमा आत्मनिर्भर बन्न सक्ने धारणा राखे।

वडा नं. ६ का अध्यक्ष हिरालाल गुरूङले स्थानीयस्तरमा कला–संस्कृतिको जगेर्ना र प्रवर्द्धनका लागि यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। “सिपमार्फत स्वरोजगार बन्ने मात्र होइन, पञ्चेबाजाजस्तो सांस्कृतिक पहिचानलाई पनि जोगाउन मद्दत पुग्छ,” उनले भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्थानिय युवायुवतीबाट आएको मागका आधारमा तालिम सुरु गरिएको बताए। “रोजगारीको अवसर नपाएर बसेका युवाहरू सीप सिकेर आम्दानी गर्न सकून् भन्ने सोचका साथ तालिम सञ्चालन गरिएको हो,” उनले उल्लेख गरे।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी, आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपाने लगायतका वक्ताहरूले यस्ता कार्यक्रमले दीगो आर्थिक विकासमा टेवा पुर्‍याउने बताए। आर्थिक वर्ष २०८१/८२ मा ६८ जनाले विभिन्न सीपमूलक तालिम लिइसकेको जानकारी दिँदै न्यौपानेले उद्यमशीलता विकास, उत्पादन प्रवर्द्धन र रोजगारी सिर्जनालाई लक्ष्य बनाएर कार्यक्रम अघि बढाइएको स्पष्ट पारे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button