• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, १९ जेठ २०८२ सोमवार । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले लमजुङमा पार्टी संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस लमजुङको प्रदेश सभा ‘क’ र ‘ख’ को संयुक्त आयोजनामा सम्पन्न छलफल कार्यक्रममा मन्तव्य दिँदै मन्त्री पौडेलले वैचारिक स्पष्टता, विषयगत ज्ञान, धैर्यता र समर्पणका साथ संगठन विस्तारमा जुट्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसका दुईवटै प्रदेश सभा क्षेत्र, नगर तथा गाउँपालिका सभापति, पदाधिकारी र जिल्लास्तरका नेताहरुको उपस्थिति रहेको थियो। मन्त्री पौडेलले लमजुङ कांग्रेसभित्र देखा परेका समस्या, चुनौती र संगठनप्रतिको धारणा स्पष्ट पार्दै सबै तहका नेताहरुलाई सक्रियतापूर्वक अघि बढ्न आग्रह गरे।

छलफल कार्यक्रम नेपाली कांग्रेस लमजुङका जिल्ला सचिव बिमल श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा पालिकास्तरका सभापतिहरुको राय, सुझाव तथा संगठनभित्र देखा परेका विविध समस्याहरुबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशकी सांसद टीका बस्याल, कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरिप्रसाद बराल, जिल्ला कार्यसमितिका सदस्यहरु, नगर–गाउँपालिकाका सभापति तथा बुद्धिजीवीहरुको समेत उपस्थिति थियो।

कार्यक्रमको समापन प्रदेश सभा ‘ख’ का सभापति रघुनाथ गुरुङले गरेका थिए।


























