प्रहार समाचार । काठमाडौँ, १९ जेठ २०८२ सोमवार । नेप्से परिसूचकमा सामान्य वृद्धि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ।

सोमबार नेप्से एक दशमलव ६० अङ्कले बढेर दुई हजार ६ सय ९४ दशमलव ६६ विन्दुमा पुगेको छ। कुल ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८ सय ८१ कित्ता शेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा कारोबार रकम नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९ सय ३३ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
कुन समूह बढे, कुन घटे ?
आज होटल तथा पर्यटन, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, म्युचुअल फन्ड र अन्य समूहको उपसूचकमा वृद्धि भएको छ। होटल तथा पर्यटन समूह सबैभन्दा बढी दुई दशमलव ३९ प्रतिशतले उकालो लागेको छ भने अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले बढेको हो। तर, बैंकिङ, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह भने ऋणात्मक देखिएका छन्। बैंकिङ समूह शून्य दशमलव ५९ प्रतिशतले घटेको छ।
सक्रिय कम्पनी र मूल्य परिवर्तन :
आजको बजारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र पिअर इनर्जी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। यता भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी, अर्थात् छ दशमलव ४५ प्रतिशतले घटेको छ। कारोबार रकम र कित्ता दुवैको आधारमा सबैभन्दा बढी किनबेच ङादी ग्रुप पावर लिमिटेडको भएको छ, जसको २२ लाख दुई हजार ६ सय ७७ कित्ता शेयर कारोबार हुँदै ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।


























