सुशिल बि. क. ( प्रहार संवाददाता ) पोखरा, १६ जेठ २०८१ शुक्रवार । गण्डकी प्रदेश सरकारले निजी सवारी साधनमार्फत राइड सेयरिङ सेवा सञ्चालन गर्न दिने निर्णय गरेपछि यसको विरोधमा यातायात व्यवसायीले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द शुक्रबारदेखि सुरु भएको छ। बन्दका कारण गण्डकी प्रदेशको जनजीवन प्रभावित बनेको छ।

यातायात व्यवसायीहरू राइड सेयरिङले गैरकानुनी रूपमा व्यवसायिक यातायात प्रतिस्पर्धा सिर्जना गर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन्। पोखरा लगायतका शहरी तथा ग्रामीण क्षेत्रमा सार्वजनिक सवारी साधन सञ्चालनमा अवरोध हुँदा सर्वसाधारण, विद्यार्थी, दैनिक ज्यालादारी गर्ने श्रमिकदेखि सरकारी तथा निजी सेवा क्षेत्रका कर्मचारीहरू समेत मर्कामा परेका छन्।
यातायात व्यवस्था कार्यालयका अनुसार प्रदेश सरकारको निर्णयअनुसार निश्चित मापदण्ड पुरा गरेका निजी सवारीधनीहरूले एपको माध्यमबाट यात्रु ओसारपसार गर्न पाउने छन्। यो व्यवस्थाले वैकल्पिक सार्वजनिक यातायात सेवा दिन सक्ने विश्वास प्रदेश सरकारले लिएको छ।
तर गण्डकी यातायात व्यवसायी संघर्ष समितिले भने सरकारको निर्णय फिर्ता नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ। समितिका संयोजकले भने, “राइड सेयरिङको नाममा व्यवसायिक प्रतिस्पर्धा गर्न दिनु कानुन विपरीत छ, यसले नियमित कर तिरेर चलिरहेका व्यवसायीहरूलाई घाटामा पार्नेछ।”
बन्दका कारण लामो दूरीका यातायात सेवा ठप्प छन् भने सहरभित्र सञ्चालन हुने माइक्रो, टेम्पो, ट्याक्सी लगायतका सेवा समेत ठप्प भएका छन्। पोखरा, दमौली, बागलुङ, बेनी, वुटवल लगायतका ठाउँमा यात्रुहरू दिनभर सवारी साधन नपाएर अलमलिएका थिए।
यता गण्डकी प्रदेश सरकारका प्रवक्ताले भने राइड सेयरिङ सम्बन्धी निर्णय नागरिकको सुविधालाई मध्यनजर गर्दै पारित गरिएको बताउँदै कानुन बमोजिमको व्यवस्था कार्यान्वयनमा कुनै सम्झौता नहुने बताएका छन्। विवाद समाधानका लागि सरकार र यातायात व्यवसायीबीच वार्ता हुने तयारी भएको बताइए पनि वार्ताको मिति भने अहिलेसम्म तय भएको छैन।यसबीचमा, नागरिकहरूले भने सार्वजनिक सेवा प्रभावित नहुने गरी समाधान खोज्न दुवै पक्षसँग आग्रह गरेका छन्।


























