हेडलाईनसमाचारसाहित्यगण्डकी

राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा तनहुँका विशाल भण्डारी प्रथम

प्रहार समाचार । कास्की , १४ जेठ २०८२ बुधवार । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ अन्तर्गत आयोजना गरिएको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा तनहुँका विशाल भण्डारी प्रथम भएका छन्।

परमानन्द संस्कृत गुरुकुल, देवघाटका विद्यार्थी भण्डारीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै २ सय २६ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरे। उनले नगद ५१ हजार १ सय ५१ रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा पर्वतको मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल दोस्रो तथा पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तेस्रो भएका छन्। पौडेलले २ सय २५ र कार्कीले २ सय १२ अंक प्राप्त गरे। उनीहरूले क्रमशः ४१ हजार १ सय ४१ र ३१ हजार १ सय ३१ रुपैयाँ पुरस्कार प्राप्त गरे।

यसैगरी कुश्मा पर्वतकी सजता गिरी, स्याङ्जाकी रीत्तिका केसी र लमजुङका सचित घिमिरेले सान्त्वना स्थान प्राप्त गर्दै २१ हजार १ सय २१ रुपैयाँ पुरस्कार जिते। बाँकेको भावना सिंह ठकुरी, जुम्लाकी अस्मिता विश्वकर्मा, नवलपरासीकी प्रशंसा महतो र स्याङ्जाकी अमृता गुरुङले सहभागी पुरस्कार स्वरूप जनही १० हजार रुपैयाँ प्राप्त गरे।

‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा आयोजित वक्तृत्व प्रतियोगितामा ९० जना विद्यार्थीले सहभागिता जनाएका थिए। कार्यक्रमको संयोजक संस्कृतिविद् डा. तुलसी प्रभास रहेका थिए भने निर्णायक मण्डलमा महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यौपाने थिए। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी र दर्शकसमेत उपस्थित थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button