प्रहार समाचार । तनहुँ, १४ जेठ २०८२ बुधबार । शैक्षिक उत्कृष्टता हासिल गरेका म्याग्दे गाउँपालिकाभित्रका नौ जना दलित विद्यार्थीलाई विशेष सम्मान गरिएको छ। दलित उत्थान समन्वय समिति म्याग्देको आयोजनामा हिंजो एक कार्यक्रमक बिच कक्षा १२ मा सत्र २०८१ मा उल्लेखनीय अंकसहित परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

सम्मान कार्यक्रम दलित समुदायका लागि आयोजित कानुनी प्रशिक्षण तथा सचेतना कार्यक्रममा समायोजन गरिएको थियो। सम्मानित विद्यार्थीहरूमा उत्सव लोहनी, बीरेन्द्र नेपाली, करुणा अच्छामी, सुबिर अच्छामी, विश्वास सुनार, सिर्जना नेपाली, मंगली सार्की, सदीक्षा कोइराला र साजन बिक रहेका छन्।
जिल्ला समन्वय समिति सदस्य एवं छनोट समितिका संयोजक डोलबहादुर सुनारका अनुसार हरेक विद्यार्थीलाई नगद दुई हजार रुपैयाँ, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विद्यार्थीहरूलाई दोसल्ला ओढाई नगद तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्दै पछिल्ला वर्षहरूमा दलित समुदायका बालबालिका शिक्षा तर्फ आकर्षित भएको उल्लेख गरे । ग
दलित उत्थान समन्वय समितिका अध्यक्ष श्रीकृष्ण बिकले समाज रूपान्तरणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने बताए। सम्मान कार्यक्रमले समुदायमा सकारात्मक सन्देश पुऱ्याएको सहभागीहरूको धारणा थियो।




















