प्रहार समाचार । कास्की , १४ जेठ २०८२ बुधवार । पोखरा १७ मा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको प्रवचनले भक्तजनलाई मन्त्रमुग्ध बनाएको छ। सुमधुर स्वर र भावपूर्ण प्रस्तुतीमार्फत उनले हिन्दी तथा नेपाली भाषामा कथा वाचन गर्दै धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाएकी छिन्।

विगतमा १४ दिनसम्म कथा वाचन गरेर मन जितिसकेकी देवी प्रतिभालाई प्रत्यक्ष भेट्न भक्तजन घण्टौँ पर्खने गरेका छन्। देवी प्रतिभाले ‘थोडा प्यार से वोल न जी, पोखरावाला वोल दो न’ जस्ता सन्देशमूलक भनाइमार्फत श्रोताको मन लोभ्याउँदै आएकी छन्। भारतबाट विश्राम नगरी सिधा कोटिहोम आइपुगेकी उनले व्यासपिठका गुरु महाराजश्रीको आग्रह र भक्तजनको प्रेमले आफू यहाँ आइपुगेको भावुक अभिव्यक्ति दिँदा माहोल झनै भक्तिभावपूर्ण बनेको थियो।

कोटिहोममा श्रीमद् देवीभागवत कथा वाचीका राधिका दासी, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, पं. दिनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज लगायतका विद्वानहरूको प्रवचन पनि भइरहेको छ। साथमा भजन, झाँकी, देव लीला, र नृत्यजस्ता सांस्कृतिक कार्यक्रमले भक्तजनलाई धार्मिक वातावरणमा झनै रमाइरहेका छन्।

महायज्ञमा देश-विदेशबाट आएका साधु, सन्त, महन्तहरू तथा हजारौँ भक्तजन सहभागी छन्। साथै, विभिन्न समाजसेवी समूह र व्यक्तिहरूबाट लाखौँ रकम सहयोग प्राप्त भएको छ। पोखरा, हेमजा, कास्की लगायतका क्षेत्रबाट आएका आमा समूह, व्यक्तिहरू तथा संस्थाले धर्मार्थ कार्यमा हातेमालो गरिरहेका छन्।

महायज्ञ अन्तर्गत खुला वक्तृत्वकला प्रतियोगितामा देशभरका विद्यालयका ९० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ। डा. तुलसी प्रभास खनालको संयोजनमा सञ्चालित प्रतियोगितामा शिक्षाविद्का विशेष प्रशिक्षण समेत समावेश छन्। साथै, रक्तदान, भजन प्रतियोगिता, विभिन्न पूजा, पाठ, दान र धार्मिक अनुष्ठानहरू पनि जारी छन्। महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।





















