प्रहार समाचार । बाजुरा, १४ जेठ २०८२ बुधवार । बाजुराको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा आइतबार बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाजुराका प्रमुख समेतको ज्यान गएको छ।

प्रहरीका अनुसार बजुरा टेलिकमका प्रमुख लोक बहादुर बिष्ट, चालक कर्ण महत, र रेडियो नेपालका कर्मचारी रवि धामीको ज्यान गएको हो ।
दुर्घटनामा बुढीनन्दा नगरपालिका–२ का अन्दाजी २५ वर्षीय नन्द बहादुर तिरुवा र २२ वर्षीय लोकेन्द्र तिरुवा घाइते भएका छन्। उनीहरूको उद्धार गरी जगन्नाथ गाउँपालिकाले कोल्टी आधारभूत अस्पताल पठाएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रहरीका अनुसार बा ५ च २२०९ नम्बरको जीप नेपाल दूरसञ्चार कार्यालयको टोली लिएर स्थानीय टावर मर्मतका लागि गइरहेको थियो। सो क्रममा जीप अनियन्त्रित भई करिब १० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी निरीक्षक केदार रेग्मीले जानकारी दिए।

























