प्रहार समाचार । तनहुँ, १३ जेठ २०८२ मङ्गलवार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौँद्वारा सञ्चालित स्रोत परिचालन तथा वित्त व्यवस्थापन सुधार कार्यक्रम अन्तर्गत देशभरका १० वटा स्थानीय तहमध्ये तनहुँ जिल्लाको व्यास नगरपालिका छनोटमा परेको छ।

नेपाल सरकार र एशियाली विकास बैंक (ADB) बीचको सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह विकास कार्यक्रम (Strengthen Public Financial Management and Developed Service Delivery Program) अन्तर्गत सञ्चालन हुने सुधार क्रियाकलापहरूको कार्यान्वयनका लागि व्यास नगरपालिका चयन गरिएको हो।
कार्यक्रम अन्तर्गत व्यास नगरपालिकामा लागू गरिने मुख्य सुधार पहलहरूमा महालेखा नियन्त्रक कार्यालयले विकास गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली कार्यान्वयन गरिने, लैङ्गिक तथा जलवायु मैत्री मध्यकालीन खर्च संरचना तयार गरी आर्थिक वर्ष २०८२/८३ देखि बजेट र कार्यक्रममा प्रभावकारी रूपमा समावेश गरिने, लैङ्गिक समानता, महिला सशक्तिकरण तथा सीमान्तकृत समुदाय लक्षित कार्यक्रमहरूका लागि छुट्टै बजेट सुनिश्चित गरिने रहेको छ।
यसै गरि सार्वजनिक लगानी निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याइने, प्राकृतिक स्रोतहरूको नक्साङ्कन गरी सम्भावित राजस्व परिचालन सुदृढ गरिने रहेको छ।
यी सुधार पहलहरूलाई प्रभावकारी रूपमा अघि बढाउन एशियाली विकास बैंकले खटाएका विज्ञ परामर्शदाता रचना श्रेष्ठ, कृष्ण पाठक र रुपक शर्मा सोमबार व्यास नगरपालिकामा आएका थिए । उनीहरूले नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै सहित सम्बन्धित प्रशासनिक टोलीसँग छलफल गरी कार्यक्रम कार्यान्वयनका रणनीतिहरूमा आवश्यक मार्गदर्शन प्रस्तुत गरेका थिए ।
व्यास नगरपालिकाले यो अवसरलाई वित्तीय अनुशासन, स्रोतको अधिकतम उपयोग, पारदर्शिता र उत्तरदायित्वसहितको शासन प्रणाली निर्माणतर्फको महत्वपूर्ण पाइला ठानेको छ। साथै, सेवा प्रवाहको गुणस्तर वृद्धि, सीमान्तकृत समुदाय र महिलालाई समेट्ने कार्यक्रम तथा वातावरणमैत्री बजेट संरचनाबाट समावेशी र दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्रोत परिचालन तथा वित्त व्यवस्थापन सुधार कार्यक्रमको सफल कार्यान्वयनले व्यास नगरपालिकालाई देशको उदाहरणीय स्थानीय तहका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।




















