हेडलाईनसमाचारगण्डकीम्याग्देशुक्लागण्डकी

शैक्षिक सुधार, पूर्वाधार र छात्रवृत्तिको माग गर्दै तनहुँको आदिकवि भानुभक्त क्याम्पस स्ववियु

• सुशिल बि. क.( प्रहार संवाददाता) तनहुँ, १३ जेठ २०८२ मङ्गलवार । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक सुधार, भौतिक पूर्वाधार विस्तार तथा छात्रवृत्तिका लागि सहयोग गर्न माग गर्दै तनहुँका विभिन्न पालिकामा ज्ञापनपत्र बुझाएको छ।

स्ववियु सभापति अनुप आलेको नेतृत्वमा आज तनहुँको म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितलाई उक्त माग समेटिएको ज्ञापनपत्र बुझाइएको हो। स्ववियु सचिवालयका अनुसार सो ज्ञापनपत्र तनहुँका दशवटै पालिकामा बुझाउने तयारी गरिएको छ।

सभापति आलेका अनुसार क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीहरू ग्रामीण तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका छन्। यस्तो अवस्थामा शैक्षिक गुणस्तर, भौतिक सुविधा तथा छात्रवृत्तिको अभावले उनीहरूको अध्ययनमा प्रतिकूल प्रभाव परेको जनाइएको छ।

ज्ञापनपत्रमा शैक्षिक सामग्री, अतिरिक्त कक्षा तथा आवश्यक सहयोगको कमीले विद्यार्थीहरूको क्षमता विकासमा बाधा पुगेको उल्लेख छ। साथै, पुस्तकालय, शुद्ध खानेपानी, अध्ययन कक्ष, शौचालय, खेलकुद सामग्रीजस्ता पूर्वाधारको न्यूनता पठनपाठनमा प्रतिकूल असर पारिरहेको स्ववियुको भनाइ छ।

आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा पछाडि पारिएका विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न, क्याम्पसको भौतिक संरचना निर्माण तथा मर्मतमा सहयोग गर्न र शैक्षिक कार्यक्रम तथा सामग्री उपलब्ध गराउन माग गरिएको छ। स्ववियुका अनुसार यस्ता मागले विद्यार्थीको उपस्थिति, परिणाम तथा प्रेरणामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button