हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

तनहुँको बुल्दी खोलामा सरसफाइ प्रतियोगिता : बढी फोहर उठाउनेलाई नगद पुरस्कार

• सुशिल बि. क.( प्रहार संवाददाता ) । तनहुँ, १२ जेठ २०८२ सोमवार । तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दी खोलालाई सफा र स्वच्छ बनाउने उद्देश्यले यही जेठ १७ गते शनिबार सरसफाइ अभियान आयोजना हुने भएको छ। व्यास नगरपालिका–१, २ र ३ भित्र पर्ने क्षेत्रलाई लक्षित गर्दै आयोजना गरिने अभियानमा बढी फोहर सङ्कलन गर्ने सहभागीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

दमौलीका सामाजिक अभियन्ता महम्मद गफ्फार (सुदीप)ले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै प्रथम हुनेलाई रु १० हजार र द्वितीय हुनेलाई रु ५ हजार नगद पुरस्कार दिने घोषणा गरे।

गफ्फारले सरसफाइ अभियान केवल फोहर संकलन र मनोरञ्जनका लागि मात्र नभई जनचेतना अभिवृद्धि गर्ने मुख्य उद्देश्य रहेको बताए। गत वर्षको सभागिताबाट प्रेरित हुँदै यसपटक पनि मासिक सरसफाइको निरन्तरता स्वरूप यो कार्यक्रम आयोजना गरिएको हो। “बुल्दी खोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले यो अभियान आवश्यक बनिरहेको छ,” उनले भने, “हामी विद्यालय, टोल, क्याम्पस र युवा क्लबसँग समन्वय गरी टोली बनाएर सरसफाइमा जुट्नेछौं, एउटा टोलीमा १५ जना सहभागी हुन सक्नेछन्।”

यसपटकको अभियानलाई थप आकर्षक बनाउन भिडिओ प्रतियोगितासमेत राखिएको छ। सरसफाइको क्रममा खिचिएका भिडिओमध्ये सबैभन्दा बढी हेरिएको भिडिओ पठाउने प्रथमलाई रु ५ हजार र द्वितीयलाई रु २५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाए। गत वर्ष ७ हजार २ सय ७ किलो फोहर संकलन भएको स्मरण गर्दै यसपटक त्योभन्दा बढी सङ्कलन हुने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button