प्रहार समाचार । युक्रेन, १२ जेठ २०८२ सोमवार । रुसले युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। ३६७ ड्रोन र मिसाइल प्रयोग गरिएको यो आक्रमण २०२२ मा सुरु भएको युद्धयता एकै रातमा भएको सबैभन्दा भीषण हमला हो। युक्रेनभरि गरिएको व्यापक आक्रमणमा तीन बालबालिकासहित कम्तिमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं नागरिक घाइते भएका छन्। बीबीसीका अनुसार, आक्रमणको प्रभावले अस्पताल, बाल आश्रमजस्ता संरचनामा समेत क्षति पुर्याएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको यो आक्रामक कारबाहीलाई अमेरिकाको मौनताले थप बल दिएको आरोप लगाएका छन्। उनले मस्कोमाथि कडा अन्तर्राष्ट्रिय दबाब नआएसम्म यस्ता हमला रोकिँदैनन् भन्दै गम्भीर चेतावनी दिएका छन्। जेलेन्स्कीले रुसले युक्रेनमाथि लगातार अत्याचार गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
यता युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले रातभरको हमला रुसको युक्रेनमाथि पूर्ण विनाशको लक्ष्य प्रष्ट देखिएको बताइन्। उनले रुसविरुद्ध थप अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताउँदै आह्वान गरेकी छन्। यसैबीच, पछिल्ला तीन दिनमा युक्रेन र रुस दुवैले ३०० भन्दा बढी सैनिकहरू एकअर्कालाई फिर्ता गरेका छन्। युक्रेनी अधिकारीहरूले रुसी कब्जाबाट फर्किएका कैदीहरूले यातना भोग्नु परेको र खाद्यान्न समेत नदिइएको गुनासो गरेका छन्।

























