प्रहार समाचार । युक्रेन , ११ जेठ २०८२ आइतवार । रुसले आइतबार बिहान युक्रेनमाथि फेरि आक्रमण गर्दा राजधानी कीभसहित देशका विभिन्न शहरहरू प्रभावित भएका छन्। सबेरै गरिएको ड्रोन आक्रमणमा राजधानी कीभ बाहिरका दुई साना शहरमा तीन जनाको ज्यान गएको र कीभमै ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

कीभको होलोसीभ्स्की जिल्लास्थित पाँच तले अपार्टमेन्ट भवनमा प्रहार हुँदा आगलागी भएको र भवनको बाहिरी भागमा क्षति पुगेको पुष्टि गरिएको छ। अन्य जिल्लाहरूमा पनि निजी आवास र एक व्यापारिक केन्द्रमा क्षति पुगेको बताइएको छ। आक्रमणपछि उद्धार र दमकल टोली घटनास्थलमा खटिएका थिए।
यो आक्रमणले युक्रेनमा तीन वर्षदेखि जारी युद्धको भयावहतालाई अझ गहिरो बनाएको छ। शुक्रबार राति रुसले कीभमाथि ठूलो मात्रामा ड्रोन र ब्यालेस्टिक मिसाइल आक्रमण गरेको केही दिन नबित्दै पुनः आक्रमण भएको हो। त्यस बेलाको हवाई हमलामा १५ जना घाइते भएका थिए र केही अपार्टमेन्टहरूमा गम्भीर क्षति पुगेको थियो।


























