• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, १० जेठ २०८२ शनिवार । लमजुङको सदरमुकाम बेसीशहामा सूचनाको हक कार्यान्वयनको अवस्था र यसका चुनौतीबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम ल सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङको समन्वयमा तथा नेपाल पत्रकार महासंघ लमजुङ शाखाको आयोजनामा आयोजित कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेलले सूचनाको हकलाई संवैधानिक मौलिक हकको रूपमा व्याख्या गर्दै कुनै पनि कार्यालयले सूचना प्रवाहमा आनाकानी गर्न नहुने धारणा व्यक्त गरे। “सूचना प्रवाहले पारदर्शिता बढाउँछ र भ्रष्टाचार न्यूनीकरणमा योगदान दिन्छ,” उनले भने।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण के.सी.ले नीति तवरमा व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरे। उनले नागरिकमा सूचनाको पहुँच अभाव रहेको र सूचनालाई समाचार तथा विज्ञापनसँग अलग ढंगले बुझिनुपर्नेमा जोड दिए।
निवर्तमान अध्यक्ष परमेश्वर अधिकारीले कतिपय कार्यालयहरूमा सूचना अधिकारी भए पनि उनीहरूले जिम्मेवारी निर्वाह गर्न नसकेको गुनासो गरे। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विज्ञान पौडेलले पर्याप्त स्रोतसाधन अभावका कारण समयमै सूचना प्रवाहमा समस्या हुने बताए।

सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयन अवस्था तथा चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमा पूर्व केन्द्रीय सदस्य नविनराज कुईकेल र जिल्ला समन्वय अधिकारी रोशन अर्यालले टिप्पणी गरेका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष बसन्ता भट्ट बानियाले स्वागत गरेको कार्यक्रमको सहजिकरण सचिव कृष्ण आलेले गरेका थिए ।
कार्यक्रमबाट सूचनाको हकलाई प्रभावकारी बनाउन, सूचना अधिकारीहरूको भूमिका सशक्त बनाउने र नागरिकमैत्री प्रशासन निर्माणका लागि आवश्यक सुझावहरू प्रस्तुत गरिएको पत्रकार महासंघ लमजुङ शाखाले जनाएको छ।


























